(977) 9820721032, 9820721022

swastikrollingmillsnepal@gmail.com

Follow Us:

सुनसरी–मोरङ औद्योगिक क्षेत्रअन्तर्गत दुहबी नगरपालिका वडा नम्बर १ परास्टोकीमा १० बिघा क्षेत्रफलमा २ अर्ब ५० करोडका लगानीमा स्थापना गरिएको स्वस्तिक रोलिङ मिलले बुधबारदेखि व्यावसायिक उत्पादन सुरु गरेको हो। स्वस्तिक रोलिङ आफ्नै मेल्टिङ युनिट भएको उद्योग हो।

उद्योगले ‘बजरङ्ग’ ब्रान्डमा टीएमटी छड, बिलेट, एङ्गल, च्यानल र आई बिमको उत्पादन सुरु गरेको छ। एङ्गल, च्यानल र आई बिमको प्रयोग साना–ठुला सबै खाले घर बनाउन, घरमा ट्रस हाल्न, विद्युत् प्रसारण लाइनको टावर बनाउन, साना–ठुला सेड बनाउन लगायतका विविध प्रयोजनमा गरिन्छ।

स्वस्तिक रोलिङमा गोल्छा अर्गनाइजेसनका २ घराना राजकुमार गोल्छा ग्रुप तथा हितेश–हिमांशु गोल्छाको हुलास स्टिल समूह र रमेश राठी-जीवन रिजालको स्वस्तिक समूहसहितको लगानी छ। यसबाहेक विराटनगरका युवा व्यवसायी  इन्तकाब अहमद मियाँ पनि यस उद्योगका लगानीकर्ता हुन्।

‘बुधबारदेखि स्वस्तिकबाट व्यावसायिक उत्पादन सुरु गर्‍यौं’, उद्योगका सञ्चालक रमेश राठीले बिजमाण्डूसँग भने, ‘मंगलबार हामीले उद्योग विभागबाट नेपाल गुणस्तर चिह्न प्राप्त गरिसकेका छौं।’ राठीले नेपाल सरकारले निर्धारण गरेको गुणस्तरको मापदण्डभित्र रहेर उद्योगले उत्पादन सुरु गरेको जानकारी दिए।

उनका अनुसार २ अर्बको चुक्ता पुँजी लगानी र ५० करोडको चालु पूँजीमा उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको हो। उद्योगको उत्पादन–क्षमता दैनिक ५०० टनको छ। रमेशले उद्योगले सबैभन्दा बढी ध्यान टीएमटीको उत्पादन र विक्रीवितरणलाई दिएको बताए। उनले परीक्षण उत्पादनका अवधिमा टीएमटीको रेस्पोन्स सबैतिरबाट राम्रो आएको उल्लेख गरे।

उद्योगले ७ देखि ४० एमएम सम्मका टीएमटीको उत्पादन गर्छ। यो उद्योग नेपालमा सबैभन्दा नयाँ र अत्याधुनिक प्रविधिको भएको उनको दाबी छ।उनले उद्योगले उत्पादन गरेको टीएमटीको ग्रिपिङ उच्च स्तरको भएकाले यसले मसला बलियो गरी समात्न सक्ने स्पष्ट पारे। उनले ‘बजरङ्ग’ ब्रान्डको टीएमटी अन्य ब्रान्डका टीएमटीका तुलनामा बढी लचकदार भएको जिकिर गरे।

राठीले स्वस्तिकमा उत्पादित टीएमटीको प्रयोग ठुलाठुला जलविद्युत् आयोजना, सडक, बहुतले भवन, पुलपुलेसा र सबै खाले प्रोजेक्टमा गर्न सकिने चर्चा गरे। यसअघि परीक्षण उत्पादनका अवधिमा बजरङ्ग ब्रान्डका टीएमटीको विक्री गरेका मोरङको सलकपुरस्थित सन्दीप ट्रेडर्सका सन्दीप प्रसाईं र झापाको बिर्तामोडस्थित वसिष्ठ ट्रेडर्सका खेम भण्डारीले बिलेट राम्रो भएकाले डन्डी गुणस्तरीय रहेको बताए।

उद्योगका सञ्चालक राठीले उद्योगका मुख्य कच्चा पदार्थमध्ये एक आइरन स्क्रयाप (फलामे पत्रु) नेपालभित्रै उपलब्ध हुने बताए। अन्य २ कच्चा पदार्थ स्पन्ज आइरन र पिग आइरन भने भारतको टाटा इन्टरनेसनलको उडिसास्थित युनिटबाट आयात गरिन्छ। उनले स्वस्तिकले अन्य फलामे उद्योगलाई धमाधम बिलेटको पनि विक्री गरिरहेको जानकारी दिए।

 

उनका अनुसार नेपालमा शहरीकरणको प्रक्रिया तीव्र छ। पूर्वमा अरुण तेस्रोलगायत धेरै साना–ठुला जलविद्युत् आयोजनाको निर्माण धमाधम भइरहेको छ। ट्रान्समिसन लाइनको विस्तारले पनि व्यापकता पाएको छ। त्यसैले यस क्षेत्रमा टीएमटी, एङ्गल, च्यानल र आई बिम लगायतका निर्माण सामग्रीका उद्योगको प्रशस्त उपादेयता छ।

उनले २०७२ सालको भूकम्पपछि अधिकांशले घर बलियो बनाउन खोजेको र गुणस्तरीय टीएमटीको चाहना गरेको कुरा सुनाए। ‘तर उद्योगका लागि केही समस्या पनि अवश्य छन्’, उनले भने, ‘बैङ्क ऋण नपाउनु मुख्य समस्या भएको छ। त्यसमा पनि राष्ट्र बैङ्कले भर्खरै जारी गरेको नीतिमा उद्योगले कुल वार्षिक कारोबारको २५ प्रतिशत रकम मात्र चालु कर्जा पाउने उल्लेख भएको सुनेको छु। यो नीतिले उद्योगीलाई हतोत्साही बनाएको छ। नेपालका उद्योगका लागि यो नीति अभिशाप सिद्ध हुनेछ।’

 

राठीले थपे, ‘सरकारको विकास खर्च हरेक वर्ष सुस्त हुन्छ। बैंक ऋणले घरजग्गाकरलाई हतोत्साहित बनाएको छ। घरनिर्माणमा पहिलेझै तीव्रता छैन। सरकारले जग्गाको कित्ताकाटलाई अझ जटिल बनाएको छ। कालो बादलजस्तै रहेका यी विविध समस्याका बिच पनि हामी चाँदीको घेरा देखिरहेका छौँ।’

रमेशले उद्योगको मुख्य बजार प्रदेश नम्बर १ र मधेस प्रदेश हुने तर निकट भविष्यमा देशभरिकै मुख्य सहरमा उद्योगका सबै खाले उत्पादन पुर्याधउने योजना सुनाए।

अब पूर्वमा २ मेल्टिङ युनिट
स्वस्तिक रोलिङको सञ्चालनसँगै पूर्वमा २ मेल्टिङ युनिट सञ्चालनमा आएका छन्। यसअघि विगत २ वर्षदेखि मुरारका समूहको पशुपति आइरन सुनसरीको दुहबी नगरपालिकामा सञ्चालित छ। 

पूर्वमै अन्य २ उद्योगका मेल्टिङ युनिट निर्माणाधीन छन्। जसमा शारडा ग्रुप र एके राठी समूहको प्रिमियर स्टिल र राजलक्ष्मी गोल्छाको हुलास वायरले मेल्टिङ युनिट धमाधम लगाइरहेका छन्।

उद्यमी राठीले अर्थमन्त्री जनार्दन शर्माले गत वर्षको प्रतिस्थापन बजेटमा मेल्टिङ युनिटलाई सेफगार्ड लगाएपछि उद्योग थपिने क्रम सुरु भएको बताए।

Contact Info

© 2022 Bajrang Steel. All Rights Reserved.