(977) 9820721032, 9820721022

swastikrollingmillsnepal@gmail.com

Follow Us:

आर्थिक संकटकाबीच विराटनगरमा स्टिल उद्योग सञ्चालन: २ अर्ब ५० करोड लगानी, दैनिक उत्पादन क्षमता ५ सय टन

विराटचोक । देशमा तरलता अभाव भएको कठिन परिस्थितिमा २ अर्ब ५० करोड रूपैयाँ लगानीमा स्थापित स्वस्तिक रोलिङ मिलले व्यावसायिक उत्पादन शुरु गरेको छ ।

प्रदेश–१ को सुनसरी–मोरङ औद्योगिक क्षेत्रअन्तर्गत दुहबी नपा–१ स्थित परास्टोलकीमा स्थापित सो मिल सञ्चालनमा आएसँगै व्यावसायिक उत्पादन शुरु गरेको हो ।

सो मिलका सञ्चालक रमेश राठीले शुक्रबार मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा पत्रकार सम्मेलन गरेर मिलले व्यावसायिक उत्पादन शुरु गरेको जानकारी गराएका हुन् ।

मिलले अहिले ४० प्रतिशत व्यावसायिक उत्पादन शुरु गरेको उनले बताए । अबको केही समयपछि सत्प्रतिशत व्यावसायिक उत्पादन गर्ने उनले जानकारी दिए ।

दुई वर्षअघि स्थापित सो मिल कोभिड–१९ को कारण सञ्चालनमा आउन नसकेको जनाउँदै उनले भने ‘अब पनि सञ्चालन नगरे लगानी डुब्ने अवस्था थियो । त्यही भएर मिलबाट बजरङ ब्राण्डमा टीएमटी छड, एम एस बिलेट, एङ्गल, च्यानल र आई बिमको उत्पादन शुरु गरिएको हो ।’ उत्पादित सामानबाट साना–ठूला दुवैखाले संरचना निर्माण गर्न सकिने उनको भनाइ छ ।

उनका अनुसार उद्योगले ७ एमएमदेखि ३२ एमएमसम्मका टीएमटी छडको उत्पादन गर्दछ । टीएमटी छडको ग्रिपिङ उच्चस्तरको र अरुभन्दा बढी लचकदार छ । यो स्वस्तिक रोलिङ मिल्स युरोपियन टेक्नोलोजीको प्रयोग गरिएको मेसिन जडित अटोमेटिक प्लान्ट भएको सञ्चालक राठीको भनाइ छ । यो उद्योग नेपालमा सबैभन्दा नयाँ र अत्याधुनिक प्रविधिको भएको उनले दाबी गरे ।

‘यहाँ उत्पादन हुने डन्डीहरूको आधाआधा घण्टामा युटिएम मेसिनद्वारा भौतिक परीक्षण गरिन्छ’, उनले भने, ‘यो उद्योगले भारतको टाटा स्टिलबाट कच्चा पदार्थ आयात गरी १७ सय डिग्री तापक्रममा पगालेर सीसीएम मेसिनद्वारा बिलेट्स उत्पादन गरी आवश्यक सामग्री तयार गर्दछ ।’

उद्योगको उत्पादन क्षमता प्रतिदिन ५ सय टन छ । यस उद्योगमा हाल ३ सय कामदार कार्यरत छन् । केही समयपछि उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएपछि थप २ सय कामदार थपिने उनले बताए । भारतीय जनशक्तिभन्दा पनि स्वदेशीलाई प्राथमिकतामा राखेको उद्योग यसअघि नै सामाजिक सुरक्षा कोषमा गइसकेकोले कामदारलाई पारिश्रमिक दिने कुरामा समस्या नहुने उनको भनाइ छ ।

उद्योगधन्दाका लागि लगानीयोग्य रकम अभाव भएको अवस्थामा यो उद्योग कसरी सञ्चालन हुन्छ भन्ने जिज्ञासामा उनले भने, ‘हामी बैंकमा मात्र पूर्ण निर्भर भएर यो उद्योग खोलेका होइनौं । अहिले पनि नेपालमा रहेका मध्ये ७० प्रतिशत् स्टिल्स उद्योग सञ्चालनमा छन् । केही समयपछि सतप्रतिशत् सञ्चालन हुन्छन् । बजारमा स्टिल्सको माग अनुसार उत्पादन गर्न सकिएको छैन ’

यो उद्योगले सञ्चालन गरेको स्टिल स्वदेशमा मात्र नभएर विदेशमा पनि निर्यात गर्ने सोच रहेको उनले बताए । अहिले अर्थतन्त्र सुस्त भएपनि, बैंकमा निक्षेप बढिरहेको कारण केही समयपछि बजारमा सुधार आउँछ भन्ने ठानेको भनेर उनले आशा व्यक्त गरे।

यो उद्योगले उत्पादन शुरु गरेसँगै उपभोक्ताहरूलाई ठूलो राहत हुने सञ्चालक राठीले दाबी गरे । ‘यसअघि १ सय ५ रूपैयाँ प्रतिकिलोग्राम रहेको छडको मूल्य अहिले प्रतिकिलोग्राम १७ रूपैयाँ घटेर ८८ रूपैयामा झरेको छ, मूल्य घट्नुमा उद्योगहरूबीचको प्रतिस्पर्धाले हो’, उनले भने ।

यो उद्योगमा उद्योगीहरू राजकुमार गोल्छा, रमेश राठी, मुनाल रिजाललगायत ५ जना लगानीकर्ता रहेको जानकारी गराइएको छ ।

आर्थिक संकटकाबीच विराटनगरमा स्टिल उद्योग सञ्चालन: २ अर्ब ५० करोड लगानी, दैनिक उत्पादन क्षमता ५ सय टन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Info

© 2022 Bajrang Steel. All Rights Reserved.